मधेश प्रदेशको प्रादेशिक अस्थिरता अन्त्यका लागि संवैधानिक संवाद आवश्यक:बिपी साह

२०८२ कार्तिक २७, बिहीबार १९:०८

काठमाडौं, २७ कार्तिक । मधेश प्रदेशमा उत्पन्न राजनीतिक अस्थिरताप्रति मधेश महासभाले गम्भीर ध्यानाकर्षण जनाउँदै संवैधानिक प्रक्रिया र राजनीतिक संवादमार्फत समस्याको समाधान खोज्न सबै पक्षलाई आह्वान गरेको छ। बिहीबार जारी विज्ञप्तिमा महासभाका संस्थापक बीपी साहले हालको घटनाक्रमले प्रदेशको स्थायित्व र संघीय लोकतान्त्रिक व्यवस्थामा प्रतिकूल प्रभाव पारेको उल्लेख गरेका छन्।

विज्ञप्तिमा भनिएको छ कि जेन–जेड आन्दोलनपछि उत्पन्न राजनीतिक अस्थिरताको अवसरलाई प्रयोग गर्दै प्रदेश सभामुख र तत्कालीन प्रदेश प्रमुखबाट गरिएको ‘असंवैधानिक कदम’ले अवस्था झन जटिल बनाएको छ। संवैधानिक प्रक्रियालाई बेवास्ता गरी राजनीतिक छलफल विना गरिएको मुख्यमन्त्री नियुक्तिको प्रक्रिया विवादरहित नरहेको उल्लेख गर्दै महासभाले सर्वोच्च अदालतले पनि सो विषयलाई शंकास्पद ठहर गर्दै दीर्घकालीन कामकाजमा रोक लगाएको तथ्य स्मरण गराएको छ।

राज्यपक्षबाट प्रदर्शनरत मधेशी मोर्चा लगायतका दलका सांसद, नेता र कार्यकर्तामाथि गरिएको दमनप्रति महासभाले घोर भर्त्सना गरेको छ। संघीय लोकतान्त्रिक व्यवस्थामा सबै पक्षलाई राजनीतिक विचार राख्ने र शान्तिपूर्ण आन्दोलन गर्ने अधिकार सुनिश्चित भएको बताउँदै, महासभाले तत्काल दमन रोक्न सरकारसँग माग गरेको छ।

विज्ञप्तिमा मधेश प्रदेशको छविमा आघात पुर्याकउने कुनै पनि गतिविधि सकारात्मक नहुने उल्लेख गर्दै संघीयता, समावेशिता र पहिचानका मूल्य–मान्यताका संरक्षणका लागि प्रदेशका राजनीतिक दल र आमजनताको निरन्तर संघर्षप्रति समर्थन प्रकट गरिएको छ।

आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै, मधेश प्रदेशको राजनीति संवैधानिक बाटो र संवादमार्फत स्थायित्व र समाधानतर्फ अगाडि बढ्ने अपेक्षा महासभाले व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार